काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)आगामी १९ चैतदेखि २९ चैतसम्म सञ्चालन हुने भएको छ।
परीक्षा बिहान ८ बजेदेखि परीक्षा सञ्चालन हुनेछ। गत २१ फागुनमा प्रतिनिधिसभा सदस्य निर्वाचन भएकाले यसवर्ष एसईई दुई साता सरेको हो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईमा ५ लाख १० हजार विद्यार्थी सहभागी हुँदैछन्। परीक्षार्थीमध्ये दुई लाख ५७ हजार ५२७ छात्रा र दुई लाख ५२ हजार ४३४ छात्र रहेको परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए।
एसईईमा सहभागी हुने विद्यार्थीमध्ये ६३ हजार एक्जाम्टेड छन्। यस वर्ष जापानबाट २३ जना विद्यार्थीले एसईई दिने भएका छन्।
छन्।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको प्रश्नपत्र ७७ वटै जिल्लामा पुगेको जनाएको छ। एसईई सञ्चालनका लागि १९ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
परीक्षालाई व्यवस्थित र सुरक्षित बनाउन नेपाल प्रहरीले देशभर करिब १२ हजार पाँच सय सुरक्षाकर्मी खटाउनेछ।
परीक्षा सकिएको तीन महिनाभित्र परीक्षाफल प्रकाशन गर्ने वार्षिक क्यालेन्डर बोर्डले तय गरेको छ। आगामी असार तेस्रो साता नतिजा प्रकाशन गर्ने गरी परीक्षालगत्तै कापी परीक्षण थालिने बोर्डले जनाएको छ।
तालिका
पहिलो दिन १९ चैतमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ।
२० चैतमा अनिवार्य नेपाली, २२ चैतमा अनिवार्य गणित, २३ चैतमा संस्कृति तथा वेद विद्याश्रमतर्फका विषयको परीक्षा सञ्चालन हुनेछ । त्यस्तै, २४, २५, २६, २७, २८ र २९ चैतमा प्राविधिक धारतर्फका पुरानो र नयाँ पाठ्यक्रममा आधारित विषयको परीक्षा सञ्चालन हुने बोर्डको परीक्षा तालिकामा उल्लेख छ।












