काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का अनुसार हालसम्म मुलुकभर ५ हजार १७ जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ।
गत पुस महिनादेखि सुरु भएको यो संक्रमण अहिले देशका ७५ जिल्लामा फैलिसकेको छ। यस वर्ष संक्रमणको दर गत वर्षभन्दा निकै बढेको देखिन्छ। गत वर्षभरि १ हजार ५२ जनामा मात्र संक्रमण पुष्टि भएकोमा यस वर्ष अहिलेसम्मै पाँच गुणाले बढी संक्रमित भेटिएका छन्।
इडीसीडीका तथ्यांकअनुसार कैलाली, दाङ, चितवन, कञ्चनपुर, संखुवासभा, धादिङलगायतका जिल्लामा बढी बिरामी भेटिएका छन्। बर्खायाम सुरु भएसँगै संक्रमणको दर झन् तीव्र बनेको हो। पछिल्लो एक महिनामात्रै १ हजार २३७ जनामा नयाँ संक्रमण देखिएको छ, जसले यस रोगको बढ्दो जोखिम स्पष्ट पारेको छ।
संक्रमण तीव्र बने पनि यसै कारण कति जनाको मृत्यु भयो भन्ने यकिन तथ्यांक भने सरकारसँग छैन। इडीसीडीका अधिकारीहरूका अनुसार मृत्यु दर सम्बन्धी राष्ट्रिय स्तरको तथ्यांक व्यवस्थापन प्रणाली अझै निर्माण भएको छैन। यसले रोग नियन्त्रण रणनीति र नीतिगत निर्णयमा चुनौती थपेको छ।
सरकारले पठायो ५० हजार परीक्षण किट
इडीसीडीको किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार स्क्रब टाइफसको समस्या बढ्न थालेपछि सरकारले ५० हजार परीक्षण किट खरिद गरी विभिन्न अस्पतालहरूमा पठाइसकेको छ।
उनका अनुसार संक्रमितको संख्या तीव्र रूपमा बढ्न थालेपछि परीक्षण सुविधामा विस्तार गर्नुपरेको हो। तर, अन्य भाइरल संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले रोग छिटो र सजिलै पहिचान गर्न चुनौतीपूर्ण भएको दाहालको भनाइ छ।
टेकु अस्पतालमा दैनिक १० नयाँ बिरामी
काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल (टेकु) मा पछिल्लो सात दिनयता ज्वरोका बिरामीमध्ये दैनिक १० जनासम्ममा स्क्रब टाइफस पुष्टि भइरहेको छ।
अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार ज्वरो लिएर अस्पताल आउनेमध्ये ३० देखि ४५ प्रतिशतमा स्क्रब टाइफस देखिएको छ। उनले भने, “ज्वरोका बिरामीमा स्क्रब टाइफसको सम्भावना उच्च पाइएकाले पहिचान र उपचारमा सजगता आवश्यक छ।”
यस अस्पतालमा गत पुसयता मात्रै ७० जनामा संक्रमण पुष्टि भइसकेको छ। राजधानीबाहेक धादिङ र नुवाकोटका बिरामी पनि यहाँ भर्ना हुने गरेका छन्।
जोखिममा ग्रामीण क्षेत्र र कृषक
डा. चालिसेका अनुसार स्क्रब टाइफस विशेष गरी काठमाडौँ वरपरका जंगल नजिक बस्ने तथा खेतबारीमा काम गर्ने व्यक्तिमा बढी देखिएको छ। काठमाडौँका सीतापाइला र कीर्तिपुर क्षेत्रका बिरामीको चाप बढी रहेको अस्पतालले जनाएको छ।
यो रोगको कारण चिचरी (माइट) को काटाइ हो, जुन प्रायः जंगल, झाडी वा खेतबारीमा हुने भएकाले ग्रामीण भेगका किसान र खेतमा लामो समय बिताउने व्यक्तिहरू बढी जोखिममा रहेको चिकित्सकहरूको निष्कर्ष छ।
लक्षण र समस्या
स्क्रब टाइफसलाई अन्य सामान्य भाइरल संक्रमणसँग छुट्याउन कठिन हुने चिकित्सकहरू बताउँछन्। ज्वरो, टाउको दुखाइ, शरीरमा पीडा, राता दाग देखिनु, र कमजोरी यसको मुख्य लक्षण हुन्। तर, सही समयमा परीक्षण र उपचार नभए गम्भीर अवस्थामा पुर्याउन सक्छ।
रोकथाममा चुनौती
स्वास्थ्य विशेषज्ञहरूका अनुसार रोग नियन्त्रणका लागि व्यक्तिगत सावधानी र समुदायस्तरको जनचेतना अत्यन्तै जरुरी छ। जंगल वा खेतबारीमा काम गर्दा शरीर ढाक्ने कपडा लगाउने, झाडीमा बस्दा वा सुत्दा ध्यान दिने, र लामखुट्टे तथा किराहरूबाट बच्ने उपाय अपनाउनुपर्ने उनीहरूको सुझाव छ।
तर, परीक्षण र तथ्यांक संकलनमा कमीकमजोरी रहँदै आएको देखिन्छ। मृत्यु दर र संक्रमितको अवस्थाबारे स्पष्ट तथ्यांक नहुनु नियन्त्रण रणनीतिका लागि ठूलो चुनौती बनेको छ।












