काठमाडौं । जहाज मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाने क्रममा बुधबार बिहान सौर्य एयरलाइन्सको सीआरजे ७–९ एनएएमई जहाज दुर्घटना भएको छ ।
जहाजले बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलको धावनमार्ग छोडेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो ।
जुन एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने आदेश हो । धावनमार्ग ०२ (कोटेश्वरतर्फ) बाट जहाजले टेकअफ लियो । अर्थात् जहाज उड्यो । त्यसको २० देखि २२ सेकेन्डमा जहाज ढलपल–ढलपल गर्न थाल्यो र हेर्दाहेर्दै दाहिनेतर्फ जहाज मोडियो र भुइँमा बजारिन पुग्यो ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजसँगको एटीसीको अन्तिम संवादमा एयरक्राफ्टमा कुनै पनि समस्याबारे क्याप्टेनबाट जानकारी आएको थिएन ।
दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकोमा १८ जनाको मृत्यु भएको प्राधिकरणले पुष्टि गरिसकेको छ । यो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको उपचार केएमसी अस्पतालमा भइरहेको छ ।
हेर्नुहोस् भिडियो