काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताहरूबीच सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ। शनिबार बालुवाटारमा बसेको बैठकले सबै दलहरूसँग छलफल गरेर अध्यादेश फागुन ६ गते बस्ने राष्ट्रियसभाबाट पारित गर्ने निर्णय गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
‘बैठकमा सहभागी सबै नेता सकारात्मक हुनुहुन्छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र राजकिशोर यादव बाहिर रहेकाले उहाँहरूसँग टेलिफोनमा कुरा भएको छ। उहाँहरू पनि सकारात्मक हुनुहुन्छ। अब दुवै सदनबाट अध्यादेश स्वीकृत हुन्छ,’ उनले भने, ‘सम्भवतः २/३ दिनमा हुन्छ। राष्ट्रियसभा ६ गते छ। सायद त्यही दिन संसद्मा पेश हुने र पारित हुनेछ।’
संविधान संशोधनका लागि कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेको उनले जानकारी दिए । ‘संविधान संशोधनका लागि कार्यदल बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति भइसकेको छ । दुवै पार्टीले आ-आफ्नो तर्फबाट नाम दिन्छौं। त्यसपछि कार्यदलले काम गर्छ,’ उनले भने ।












