काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ ।
बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए । उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे ।
उनले धितोपत्र बोर्डको अध्यक्ष बिहिन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतिहरु रहेको उल्लेख गरे ।
उनले पुँजीबजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजीबजार विकासको काम गर्ने बताए ।
उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरु अगाडि बढाउने बताए। अध्यक्ष श्रेष्ठले पुँजीबजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्ने बताए ।
उनले लामो समयदेखि रोकिएको आईपीओ समयमा नै आउने गरी काम गर्ने बताए ।












