काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। बुधबारको बैठक सुरु हुनेबित्तिकै दुवै पार्टीका सांसदहरू आक्रोशपूर्ण अवरोध गर्दै संसद् बहिष्कारमा उत्रिएका हुन्।
संसद बैठक सुरु भएपछि सभामुख देवराज घिमिरेले रास्वपाकी सांसद बिन्दवासिनी कंसाकारलाई बोल्ने समय दिए। सांसद कंसाकारले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीमा सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै तत्काल छानबिनको माग राखिन्।
उनले भनिन्, “सरकारमै रहेका मन्त्रीहरूको ३२ लाख रुपैयाँ सम्बन्धी अडियो सार्वजनिक हुँदा पनि चुप बस्नु अपराधको समर्थन गर्नु हो।”
त्यसपछि राप्रपाका नेता राजेन्द्र लिङ्देनले बोल्दै सरकारभित्रै भ्रष्टाचारको प्रतिस्पर्धा चलेको आरोप लगाए। “मन्त्रीहरूबीच को कति कमाउँछ भन्ने प्रतियोगिता भइरहेको छ,” उनले संसदमा भने, “सार्वजनिक अडियोहरूबारे सरकारले चासो नदेखाउनु गम्भीर विषय हो।”
विरोधका स्वर अझ चर्किएपछि रास्वपा र राप्रपाका सांसदहरूले संसद् बहिष्कार गर्दै बैठकबाट बाहिरिएको घोषणा गरे।
संसदमा देखिएको यो संयुक्त अवरोधले सरकारमाथि भ्रष्टाचार र मानव तस्करीजस्ता संवेदनशील मुद्दामा जवाफदेही बन्ने दबाब बढाएको छ।












