काठमाडौं ।‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९’ संशोधनसहित प्रतिनिधिसभाबाट पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाबाट गरिएको संशोधनलाई बहुमतले स्वीकार गरेको हो।
राष्ट्रियसभाबाट प्राप्त संशोधन प्रतिवेदनमाथि प्रतिनिधिसभामा छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको उत्तर रक्षामन्त्री मानबहादुर राईले प्रधानमन्त्रीको तर्फबाट दिएका थिए।
छलफलपश्चात् सभामुख देवराज घिमिरेले विधेयक निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले समर्थन जनाउँदै पारित भएको हो। अब सभामुख घिमिरेले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउनेछन्। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयक राजपत्रमा प्रकाशित भई कानुनका रूपमा लागू हुनेछ।
उक्त संशोधन विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०७९ फागुन १२ गते संघीय संसद् सचिवालयमा दर्ता गरेका थिए। दफावार छलफलका लागि २०८० वैशाख १५ मा राज्य व्यवस्था तथा सुशासन समितिमा पठाइएको विधेयक २०८१ जेठ १७ गते समितिबाट प्रतिवेदनसहित फिर्ता भएको थियो।
प्रतिनिधिसभाले २०८१ चैत १८ गते विधेयक पारित गरी राष्ट्रियसभामा पठाएको थियो भने राष्ट्रियसभाले २०८२ जेठ ३० मा संशोधनसहित फिर्ता गरेको हो।












