नयाँदिल्ली।
‘न्यूजिल्यान्ड सिरिजपछि म टुटिसकेको थिएँ। मलाई लाग्यो मेरो सपना फेरि चकनाचुर भयो।’
जब सन्जु स्यामसन लाई टी-२० विश्वकप २०२६ को ‘प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गरियो, उनका मनमा ती पुराना सम्झना ताजा भए, जब उनी पूर्ण रूपमा निशारामा थिए।
सायद उनले मनमनै स्वीकार गरिसकेका थिए कि टिम इन्डियासँग उनको यात्रा यहीँसम्म मात्र थियो।
३१ जनवरी २०२६। भारत र न्यूजिल्यान्डबीच पाँच खेलको सिरिजको अन्तिम खेल। टी-२० विश्वकप ०२६ सुरु हुनुअघि भारतीय टोलीको पनि अन्तिम खेल।
सन्जु स्यामसनको ब्याटबाट केवल ६ रन निस्कियो। टी-२० अन्तर्राष्ट्रियमा लगातार ११औँ इनिङ्समा पनि उनले अर्धशतक बनाउन सकेनन्।
तर, त्यही खेलमा इशान किसनले शतक प्रहार गरे। भारतीय टोलीले २७१ रनको विशाल लक्ष्य बनाएपछि जब टोली मैदानमा उत्रियो, एउटा यस्तो घटना भयो जसले लाग्यो- सञ्जूको भारतका लागि विश्वकप खेल्ने सपना अधुरै रहनेछ।
सञ्जू आफ्नो विकेटकिपिङ किट बोकेर बाउन्ड्री पार गर्नै लागेका थिए, त्यही बेला टोली व्यवस्थापनबाट संकेत आयो। संकेत यस्तो थियो, आज तपाईंले विकेटकिपिङ गर्नुहुन्न, किपिङको जिम्मा शतक बनाउने इशान किशनले सम्हाल्नेछन्।
त्यतिबेला सञ्जूको निराशा यस्तो थियो कि उनले आफ्ना किपिङ ग्लोभ्स बाउन्ड्री लाइन नजिक उभिएका दुई साना फ्यानलाई उपहारस्वरूप दिए।
सन्जु स्यामसनको त्यो उपहारले त्यस दिन दुई बालकको दिन अविस्मरणीय बनायो। तर, त्यतिबेला उनी अत्यन्त कठिन समयबाट गुज्रिरहेका थिए।
सायद त्यतिबेला उनको मनमा यही चलिरहेको थियो कि अब जीवनमा यी ग्लोभ्सको आवश्यकता नै बाँकी छैन।
सायद पहिले यस्तो कहिल्यै भएको थिएन
किनभने त्यस खेलमा इशान किशनले किपिङको जिम्मा लिएसँगै लगभग स्पष्ट भएको थियो कि विश्वकपमा टोलीका पहिलो रोजाइका विकेटकिपर उनी नै हुनेछन् र सन्जु स्यामसनले प्लेइङ-११ मा स्थान पाउने छैनन्।
तर, केवल एक महिनामै सन्जु स्यामसनका लागि समय बदलियो। अब उनका अधुरा सपना मात्र पूरा भएनन्, उनी आफ्नो करियरको शिखरमा पनि पुगे।
आइसीसी विश्वकपको इतिहासमा सायद यस्तो विरलै भएको होला-जसलाई प्रतियोगिताको आधा यात्रासम्म प्लेइङ-११ मा राख्न योग्य ठानिँदैन, उही खेलाडी ‘प्लेयर अफ द टूर्नामेन्ट’ बनेर निस्कियो।
तर, अब यो क्रिकेट इतिहासको नयाँ यथार्थ बनेको छ। जसका लागि कप्तान सूर्यकुमार यादवले दुई हप्ता अघिसम्म प्लेइङ-११ मा सन्जु स्यामसनको स्थान देखिरहेका थिएनन्, आज उनी नै भारतको जितका सबैभन्दा ठूला नायक बने।
तीन नकआउट खेल र तीनैमा उत्कृष्ट इनिङ्स। सन्जु स्यामसनले यस्तो कमाल देखाए कि यसलाई क्रिकेट इतिहासकै सबैभन्दा सफल ‘कमब्याक’ मध्ये एक मान्न सकिन्छ।
सञ्जूले पहिलो क्वार्टरफाइनल’ मा वेस्टइन्डिजविरुद्ध ९७ रनको अविजित इनिङ्स खेलेर भारतलाई सेमिफाइनल पुर्याए। त्यसपछि उनले वानखेडेमा ४२ बलमा ८९ रन बनाएर भारत फाइनल पुग्ने निश्चित गरे।
अहमदाबादमा फेरि ८९ रनको इनिङ्स खेल्दै उनले सुनिश्चित गरे, टी-२० विश्वकपको उपाधि भारतकै नाममा रहनेछ।
केवल पाँच खेलमा ३२१ रन बनाएपछि उनलाई ‘प्लेयर अफ द टूर्नामेन्ट’ घोषित गरियो। उनका मनका सबै पीडा मानौँ बाहिर निस्किए। किन ननिस्कून्, उनले १९९.३७ को स्ट्राइक रेट र ८०.२५ को औसतमा यी रन बनाएका थिए।
उनी टी-२० विश्वकपको सेमिफाइनल र फाइनल दुवैमा अर्धशतक बनाउने मात्र तेस्रो खेलाडी बने।
यस्तो प्रदर्शन गरेपछि कुनै खेलाडीसँग भन्नका लागि शब्द नै कहाँ बाँकी रहन्छ र?
आकाशमा चम्किएको तारा
त्यसैले खेलपछि सन्जु स्यामसनले भने, ‘मानौँ सपना साकार भयो। शब्द सकिएका छन्। म यी भावनाहरूलाई बुझ्ने प्रयास गरिरहेको छु।’
‘यसको सुरुवात २०२४ बाट भयो। म टोलीसँग थिएँ तर एउटा पनि खेल खेल्न पाइनँ। म निरन्तर कल्पना गरिरहन्थेँ। म सपना देखिरहन्थेँ। म यही गर्न चाहन्थेँ।’
‘मलाई थाहा थियो-फेरि राम्रो बन्नका लागि धेरै मेहनत गर्नुपर्छ। न्यूजिल्यान्ड सिरिजपछि म टुटिसकेको थिएँ। मलाई लाग्थ्यो मेरो सपना चकनाचुर भयो।’
‘तर सायद भगवानसँग अर्को योजना थियो। सपना देख्ने हिम्मत राख्न पाएकोमा म खुसी छु। पछिल्ला दुई महिनादेखि म सचिन तेन्दुलकर सरसँग सम्पर्कमा छु। म आभारी छु। हिजो राति पनि उहाँले फोन गर्नुभएको थियो।’
सपना पूरा भएको खुसी त्यतिबेला झल्कियो जब कुलदीप यादव विश्वकप ट्रफी लिएर उनीतिर आए। सुरुमा दुवैले मिलेर ट्रफी उठाए।
पछि कुलदीप ट्रफी लिएर अगाडि बढ्न लाग्दा सञ्जूले संकेत गर्दै भने-अझै एकछिन रोक। उनले कुलदीपका हातबाट ट्रफी लिए र लामो समयसम्म त्यसलाई नियाली रहे।
त्यो बेला उनका आँखा आकाशतिर उठ्दा सयौँ ताराहरू देखिएका होलान्। तर भावनाको समुद्रमा डुबिरहेका उनी सायद यो बुझ्न सकेनन्क्रि-केटका लागि बाँच्ने/मर्ने १ अर्ब ४० करोड मानिसको देशमा अब उनी स्वयं एउटा यस्तो तारा बनेका छन्, जसलाई सायद कहिल्यै बिर्सन सकिँदैन।
र, अब भविष्यमा जब सन्जु स्यामसनले कुनै अन्तर्वार्ता दिनेछन्, तब उनको मनमा यो खेद रहनेछैन-
‘मैले अन्तर्राष्ट्रिय क्रिकेटमा १० वर्ष बिताएँ, तर मेरो हिस्सामा ४० खेल मात्र आए।’
किनकि ती थोरै खेलमै उनले जे हासिल गरे, त्यो क्रिकेटका धेरै दिग्गजहरूले सयौँ खेल, हजारौँ रन र अनगिन्ती कीर्तिमान बनाएपछि पनि हासिल गर्न सकेनन्। (बिबिसी हिन्दीबाट अनुवाद)












