काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । सभामुख घिमिरेका अनुसार अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।
बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक विपक्षीको अवरोधका कारण चल्न सकेको थिएन । त्यसपछि आधा घण्टाका लागि स्थगित भएको बैठक समयमै सुरु हुन नसकेपछि पुनः सूचना टाँस गरेर स्थगित गरिएको थियो ।
प्रतिनिधिसभा नियमावली अनुसार निर्धारित समयभन्दा दुई घण्टा ढिलो भए सभाको बैठक स्वतः स्थगित हुन्छ ।
यही प्रतिबन्धात्मक व्यवस्थाका कारण दुई घण्टा पुग्नु केही मिनेट अघि संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना निकालेर आजै दिउँसो ३ बजे बस्नेगरी बैठक सारेका थिए ।
तर, दोस्रो बैठकमा पनि विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि सभामुख घिमिरेले बैठक स्थगित गरेका हुन् ।
बैठकमा विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका थिए । प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने उनीहरूको माग छ ।












