काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका तीन जनाविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सातवटा उजुरी दर्ता भएका छन्। उजुरीमध्ये पाँचवटा व्यक्तिविशेष लक्षित छन् भने बाँकी दुईवटा न्यायाधीश नियुक्तिसम्बन्धी सुनुवाइ प्रक्रिया नै लक्षित गरी दर्ता गरिएका छन्।
सुनुवाइ समितिको सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आज बसेको बैठकमा समितिका सभापति लीलादेवी न्यौपानेले उजुरीबारे जानकारी दिएकी हुन्। उनले उजुरीकर्ताको नाम र उजुरीको बिवरण भने खुलाइनन्।
सुनुवाइ समितिले उजुरीकर्ताहरूलाई यही शुक्रबार हुने अर्को बैठकमा उपस्थित हुन आह्वान गरेको छ।
सर्वोच्च अदालतका न्यायाधीशका रूपमा सिफारिस भएकामध्ये वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका प्रमुख न्यायाधीश श्रीकान्त पौडेल, र उच्च अदालत दिपायलका प्रमुख न्यायाधीश शान्तिसिंह थापा रहेका छन्। उनीहरू न्याय परिषद्को सिफारिसमा सर्वोच्च अदालतका न्यायाधीश बन्ने प्रक्रिया अन्तर्गत संसदीय सुनुवाइको चरणमा छन्।
सुनुवाइ समितिले उजुरीहरू अध्ययन गरी आवश्यक छानबिनपछि आगामी निर्णय लिनेछ।










