काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ऐन तथा कानून निर्माणको सवालमा संसदीय समिति र सांसदहरुले जागरुकताका काम गर्नुपर्ने बताएका छन्। सोमबार(आज) काठमाडौंमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले सांसदहरू निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको पनि स्वीकार गरे। सभामुख घिमिरेले सांसदहरू संसद्प्रति उत्तरदायी नभएको टिकाटिप्पणी भइरहेको उल्लेख गर्दै संसद् र समितिहरूलाई प्रभावकारी बनाउन सबै सांसदहरुले भूमिका खेल्न जरुरी रहेको उनको भनाई थियो।
सो अवसरमा उनले संसदीय पत्रकारिताले संसद्मा भएका समस्याहरू र त्यसको महत्व उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएपनि पछिल्लो समय पत्रकारिता क्षेत्रमा गर्न नहुने क्रियाकलापहरू बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। सञ्चार क्षेत्रले समाचार संप्रेषणका क्रममा सही सूचनालाई सही ढंगले सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ ।
लोकतन्त्र र संसदीय व्यवस्थालाई बलियो र प्रभावकारी बनाउन संसदीय पत्रकारितालाई प्रभावकारी बनाउन जरुरी रहेको उनको भनाई छ।












