काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानविनको पहल गर्न माग गर्दै सभामुखलाई ध्यानाकर्षण गराएको छ ।
पार्टीका महासचिव धर्मेन्द्र बास्तोला ’कञ्चन’ सहितका नेताहरु सिंहदरबार स्थित संसद सचिवालय मै पुगेर प्रतिनिधी सभाका सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।
शासन सत्ताको जिम्मेवारी लिएका राजनीतिकर्मी, सुरक्षा, प्रशासन तथा संवैधानिक क्षेत्रका उच्च तहकै व्यक्तिहरुको भ्रष्टाचारजन्य आचरणको कारण जनघात र राष्ट्रघात थोपरिदै गएको छ र जनतामा निराशा र आक्रोस बढिरहेको नेकपा (बहुमत) ले बुझाएको ध्यानाकर्षणमा उल्लेख छ ।
देश र जनताप्रतिको दायित्वबोधलाई गम्भीर आत्मसात गरी विशिष्ट व्यक्तिहरुको सम्पत्ति छानविन सम्बन्धि उच्च स्तरिय नागरीक छानविन समिति गठनको प्रक्रियामा सभामुख तर्फबाट यथासीघ्र पहल गर्न माग समेत गरिएको छ ।
सभामुख देवराज घिमिरेले नेकपा (बहुमत) ले उठाएको प्रश्न र प्रस्ताव गम्भीर र यथार्थपूर्ण रहेको स्वीकार गर्दै आफू यस विषयमा सकारात्मक रहेको धारणा व्यक्त गरे ।
उक्त भेटमा पार्टीका स्थाई समिती सदस्यहरु उदय बहादुर चलाउने ’दिपक’, दिपेन्द्र चलाउने ’संगम’, पोलिटब्युरो सदस्य सागर लिम्बू लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।