एजेन्सी । रूसको सुदूरपूर्वी कामचट्का प्रायद्वीपमा बुधबार गएको ८.८ म्याग्निच्युडको भूकम्पले सम्पूर्ण विश्वमा त्रास फैलाएको छ। यूएस जियोलोजिकल सर्भे (USGS) का अनुसार दशकौंदेखिको यो सबैभन्दा शक्तिशाली भूकम्प हो, जसले प्यासिफिक रिङ अफ फायर क्षेत्रमा रहेका धेरै मुलुकहरूलाई सतर्क बनाएको छ। भूकम्पपछि रूस, जापान, चीन, अमेरिका, फिलिपिन्स र इन्डोनेसियामा सुनामीको चेतावनी जारी गरिएको छ।
कुरिल टापुमा १३ फिट अग्लो छाल
रूसी अधिकारीहरूले कुरिल टापु क्षेत्रमा चार मिटर (१३ फिट) सम्मको विशाल छाल उत्पन्न भएको जनाएका छन्। सेभेरो-कुरिलस्क सहरमा समुद्रबाट आएको शक्तिशाली छालले घर र कारहरू बगाएको प्रत्यक्षदर्शीले बताएका छन्। कैद भएका भिडियोहरूमा भवनहरू डुबेको देखिन्छ।
जापान: होक्काइडोमा विशाल छाल
भूकम्पको प्रभाव जापानको होक्काइडोसम्म पुगेको छ। जापानको मौसम विज्ञान एजेन्सीले तीन मिटर (१० फिट) सम्मका छालहरू आउन सक्ने भन्दै तटीय क्षेत्र खाली गर्न आदेश दिएको छ। धेरै ठाउँमा सुनामी साइरन बजाइएको छ र नागरिकलाई सुरक्षित क्षेत्रमा सारिएको छ।
चीनमा पनि सुनामीको जोखिम
चीनको प्राकृतिक स्रोत मन्त्रालय अन्तर्गतको चेतावनी केन्द्रले सांघाई र झेजियाङ प्रान्तमा १ मिटरसम्मका छाल आउन सक्ने चेतावनी दिएको छ। ‘कोमाई आँधी’ को प्रभावसँगै समुद्र अझै अशान्त हुने आकलन गरिएको छ।
अमेरिका: समुद्री तट खाली गर्न निर्देशन
लस एन्जलस लगायतका तटीय सहरहरूमा मानिसको मोबाइलमा स्वतः सन्देश पठाएर सतर्क गराइएको छ। अधिकारीहरूले समुद्र तट, बन्दरगाह, जलमार्ग र तटीय क्षेत्रमा जान निषेध गरिएको जानकारी दिएका छन्।
दक्षिणपूर्वी एसियामा पनि सतर्कता
फिलिपिन्स र इन्डोनेसियाले पनि आफ्नो तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरेका छन्। PHIVOLCS का अनुसार फिलिपिन्सको प्रशान्त तटमा १ मिटर अग्ला छाल आउन सक्ने छन् भने इन्डोनेसियामा ०.५ मिटर छालको सम्भावना छ।












