काठमाडौं । रौतहटको गौर माधव नारायण नगरपालिका रुबी साह हत्या प्रकरणमा संलग्न प्रमुख आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नु अघि करिब १० मिनेट लामो भिडियो सन्देश सार्वजनिक भएको छ। भिडियोमा पासवानले रुबीको हत्या आफूले गरेको स्वीकार गर्दै घटनाको मुख्य दोषी रुबीकी आमा भएको आरोप लगाएका छन्।
प्रहरीका अनुसार, पासवान माधव नारायण नगरपालिका–६ स्थित खेतमा जलेको अवस्थामा फेला परेका थिए। उनी गम्भीर घाइते भएका कारण प्रारम्भिक उपचारपछि थप उपचारका लागि कीर्तिपुर बर्न सेन्टरमा रेफर गरिएको छ। हाल उनी प्रहरीको निगरानीमा उपचाररत छन्।
भिडियो सन्देशमा पासवानले रुबीसँग कक्षा १० पढ्दादेखि प्रेम सम्बन्ध रहेको र दुवैले सर्लाही जिल्ला अदालत तथा भारतको सीतामढीस्थित अदालतमा प्रेम विवाह गरेको बताएका छन्। उनले रुबीकी आमाले पैसाको प्रलोभनमा छोरीलाई अन्य केटाहरूसँग सम्बन्ध राख्न लगाएको दाबी पनि गरेका छन्।
गत शनिवार राति गौरमा सुटकेसभित्र रुबीको शव फेला परेको थियो। अनुसन्धानको सुई पासवानतर्फ गएपछि उनी फरार थिए। आत्मदाह अघि पासवानले भिडियोमा भनेका छन्, “रुबीलाई आमाले अरूसँग विवाह गराइन्, मसँग बस्न दिएनन्। अब म पनि बाँच्न चाहन्नँ।”
यसैगरी, पासवानले पक्राउ परेका रिक्सा चालक निर्दोष रहेको भन्दै उसलाई दोष नदिन आग्रह गरेका छन्। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी राखेको छ र प्रकरणको पूर्ण विवरण सार्वजनिक गर्ने तयारीमा रहेको छ।












