काठमाडौँ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावबाट वर्षा तीव्र हुन थालेपछि सरकारले पश्चिम नेपालका उच्च जोखिमयुक्त जिल्लामा यातायात सञ्चालनमा कडाइ गरेको छ। अत्यधिक वर्षाको सम्भावना रहेका २५ जिल्लामा शुक्रबार र शनिबार यातायात सञ्चालन नगर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको हो।
प्राधिकरणले शुक्रबार साँझ जारी गरेको सूचनाअनुसार अत्यधिक वर्षाको सम्भावना रहेका जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई ध्यानमा राख्दै दुई दिन यातायात सञ्चालन नगर्न भनिएको छ। सम्बन्धित जिल्लालाई जोखिमको अवस्थाअनुसार आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि निर्देशन दिइएको छ।
उच्च जोखिमको सूचीमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जिल्ला छन्। सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर तथा कर्णालीका डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला र सुर्खेत रहेका छन्।
त्यस्तै लुम्बिनी प्रदेशका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङ्जालाई अत्यधिक वर्षाको जोखिम भएका जिल्लामा राखिएको छ।
३० जिल्लामा राति यातायात बन्द
प्राधिकरणले ३० जिल्लामा पनि भारी वर्षाको सम्भावना औँल्याउँदै रातको समयमा यातायात सञ्चालन बन्द गर्न भनेको छ। यी जिल्लालाई मध्यमदेखि उच्च जोखिमको अर्को तहमा राखिएको छ।
रातको समयमा बाढी र पहिरोका कारण सडकको अवस्था तत्काल पहिचान गर्न कठिन हुने भएकाले यातायात बन्द गर्ने व्यवस्था गरिएको हो। दिउँसो भने सडकको अवस्था, वर्षाको तीव्रता र स्थानीय जोखिम मूल्यांकनका आधारमा यातायात सञ्चालन गर्ने वा नगर्ने निर्णय सम्बन्धित जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टले गर्नेछ।
यसअघि पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई आधार बनाएर विभिन्न जिल्लाले जोखिमयुक्त सडकमा रात्रीकालीन सवारी सञ्चालनमा रोक लगाउँदै आएका छन्। काभ्रेपलाञ्चोकमा समेत सम्भावित बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा साँझदेखि बिहानसम्म सवारी आवागमन रोक्ने निर्णय गरिएको छ।
२२ जिल्लामा सतर्क रहन आग्रह
प्राधिकरणले बाँकी २२ जिल्लामा तुलनात्मक रूपमा कम वर्षा हुने प्रक्षेपण गरे पनि सतर्कता अपनाउन आग्रह गरेको छ।
यी जिल्लामा कोशी र मधेश प्रदेशका सबै सम्बन्धित जिल्ला तथा बागमती प्रदेशका मकवानपुर र सिन्धुली रहेका छन्। ती क्षेत्रमा अत्यधिक वर्षाको जोखिम नरहे पनि वर्षाका कारण स्थानीय खोलानाला बढ्न सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम रहन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ।
पश्चिममा जोखिम बढेपछि पूर्वतयारीमा जोड
पछिल्लो मौसमी अवस्थासँगै पश्चिम नेपालका पहाडी र तराई क्षेत्र वर्षाको उच्च जोखिममा परेका छन्। भारी वर्षाको समयमा सडकमा पहिरो खस्ने, खोलानालामा आकस्मिक बहाव बढ्ने तथा सडकको अवस्था बिग्रने भएकाले लामो दूरीको यातायात विशेष जोखिममा पर्ने गर्छ।
सरकारी निकायले यसपटक जोखिम देखिएका क्षेत्रमा घटना भएपछि उद्धार गर्नेभन्दा सम्भावित जोखिमअघि नै आवागमन नियन्त्रण गर्ने रणनीति अपनाएको देखिन्छ। उच्च जोखिमको पूर्वानुमान भएका जिल्लामा यातायात रोक्ने र अन्य जोखिम क्षेत्रमा रात्रीकालीन आवागमन नियन्त्रण गर्ने निर्णय त्यसैको हिस्सा हो। संखुवासभालगायतका जिल्लामा समेत असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउँदै जोखिमयुक्त सडक र बस्तीमा पूर्वतयारी अघि बढाइएको छ।












