काठमाडौं । यातायात व्यवसायीले अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन्। राइड सेयरको विरुद्धमा सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर विरोध गरेका छन्। तर, सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट दुई गुणा भाडा मोबाइल एपमा राख्न थालेका हुन्।
पठाओ, इन्ड्राइभलाई ट्याक्सी र सार्वजनिक सवारीको विकल्पको रूपमा प्रयोग गर्न थालिएको छ। कम्पनीले यस अगाडि पनि ‘पिक आवर’मा एक जना यात्रुसँग १० देखि ४० प्रतिशतसम्म थप शुल्क असुल्ने गरेको थियो। थोरै संख्यामा चालक रहेको स्थानमा धेरै यात्रुसम्पर्कमा आउँदा स्वतः भाडा बढाउने गरेको छ। कार्यालय समय र रातका बेला सेवाग्राहीसँग थप शुल्क लिने गरेको कम्पनीले यस अगाडि नै स्वीकार गर्दै आएको थियो।
आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभलगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गर्न थालेका छन्। यस अगाडि १०० रुपैयाँ भाडा तोकिएको स्थानमा एपमा १८०÷१९० रुपैयाँ देखाउने गरेको छ भने, राइडरहरुले कम्तिमा २५० रुपैयाँ देखि ३५० रुपैयाँसम्म बार्गेनिङ गर्न थालेका छन्।
यता प्रहरीले भने विभिन्न Ride sharing App मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गरेको छ ।












