काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइएफआरसी)ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ ।
अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो । अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो ।
उनीहरूमाथि संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धान्तहरु परिपालना नगरेको , प्रशासनिक अराजकता निम्त्याएको, राजनीतिक आडमा आर्थिक लाभ लिएको सहित कारण देखाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।
आइएफआरसीको विधानको धारा ८ प्रतिकूल हुने गरी कार्य गरेकाले निलम्बन गरिएको संस्थाले बताएको छ। गत कात्तिकमा नेपाल रेडक्रस सोसाइटीमा दलीय भागबन्डाको आधारमा पदाधिकारी नियुक्त गरिएको थियो ।
नेपाली कांग्रेसबाट अध्यक्ष, उपाध्यक्ष (खुल्ला), उपमहामन्त्रीसहित १५ जना नियुक्त गरिएको थियो । नेकपा (एकीकृत समाजवादी) को भागमा महामन्त्री, उपकोषाध्यक्षसहित ६ जना परेको थियो । त्यस्तै नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष (महिला), कोषाध्यक्षसहित ८ जना नियुक्त भएका थिए ।












