काठमाडौं । उच्च अदालतबाट सफाइ पाएसँगै नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम कानुनी रूपमा निर्दोष ठहरिएका छन्, तर रौतहटको बम विष्फोट घटनामा जीवित बचेका गौरीशंकर राम चमारका घाउ अझै बलिरहेका छन्।
भारतको बिहार, सीतामढी घर भएका ४३ वर्षीय गौरीशंकर २०६४ साल चैत २७ गते रौतहटको राजा इँटाभट्टामा काम गरिरहेका बेला भएको विस्फोटमा गम्भीर घाइते भएका थिए।
उनले आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘बम विस्फोट अफ्ताब आलमको काकाको घरमा भएको थियो, र सोही दिन आफू त्यहाँ पैसा लिन गएका बेला दुर्घटनामा परे ।’ ‘आगो लागेपछि म भागेँ,’ उनले भने, ‘पानीमा हाम्फालेँ, कसरी भारत पुर्याइएँ थाहा छैन। आँखै खोल्दा सीतामढीको अस्पतालमा थिएँ।’
तीन महिना उपचार, तीन लाखभन्दा बढी खर्च
गौरीशंकरले भारतमा तीन महिनासम्म उपचार गराए। दुवै कान गुमे, अनुहार र छातीमा गम्भीर चोट लाग्यो। उनका अनुसार उपचारमा झण्डै साढे तीन लाख भारतीय रुपैयाँ खर्च भयो, तर अफ्ताब आलमले एक पटक पनि नसोधेको र कुनै सहयोग नगरेको गुनासो गरेका छन्।
‘धम्की दिइएको थियो, मर्नेछौ भनेका थिए’
गौरीशंकरका अनुसार घटनापछि प्रहरीमा दिएको बयानकै कारण अफ्ताब पक्षका व्यक्तिले उनलाई धम्की दिएका थिए।
‘तिम्रो छोरा अब दुई–चार वर्ष बाँच्छ, त्यसपछि मर्छ,’ भन्दै आमालाई अफ्ताबका मान्छेले धम्क्याएको उनले बताए।
अदालतको फैसलाले अन्याय महसुस
उच्च अदालत वीरगञ्जले ‘घटनामा पर्याप्त प्रमाण नपाएको’ भन्दै अफ्ताब आलमलाई सफाइ दिएको हो। तर गौरीशंकर भने त्यही बम विस्फोटमा आफू घाइते भएको स्पष्ट बताउँछन्। ‘मलाई बमले नै लागेको हो,’ उनी भन्छन्,‘अदालतको निर्णयले पीडितलाई न्याय दिएन।’
अबको जीवन– अपाङ्गता, गरिबी र डर
गौरीशंकर अहिले काठमाडौंमा छन्, शरीरभरि घाउका खतहरू, कान गुमाएको पीडा, काम गर्न नसक्ने अवस्था र जिउनुपर्ने त्रास।
‘म कसरी बाँचुँ ? म मर्ने कि बाँच्छु, थाहा छैन,’ भन्छन् उनी रुँदै।
अफ्ताब आलम छुटे, तर बाँचेर पनि जीवनभर पीडा बोकिरहन बाध्य व्यक्ति गौरीशंकरले न्याय खोजिरहेका छन्। “त्यस्तो मान्छेलाई छुटाउनु भएन, कडा सजाय दिनुपर्छ,“ उनको माग छ।
यो घटनाले कानुनी फैसलासँगै न्याय र सत्यबीचको गहिरो अन्तर पुनः उजागर गरिदिएको छ। अदालतको निर्णय अन्तिम हुन सक्छ, तर पीडितको पीडा भने अझै बाँकी नै छ।












