काठमाडौं । २०६४ सालको संविधानसभा निर्वाचनअघिको रौतहट बम विस्फोटका घाइते तथा प्रत्यक्षदर्शी गौरीशंकर राम चमारले आफूलाई कांग्रेस नेता मोहम्मद अफताब आलमबाट ज्यानको खतरा रहेको बताएका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चमारले आलमलाई उच्च अदालत वीरगञ्जले दिएको सफाइ त्रुटिपूर्ण फैसला भएको दाबी गर्दै न्यायको माग गरेका हुन्।
भारतको बिहार, सीतामढीका स्थायी बासिन्दा चमारले घटनाको दिन अफताब आलमको इँटाभट्टामा काम गर्दै गर्दा बम विस्फोटमा परेका थिए। चमारका अनुसार आफू आगो लागेर भाग्दा भाग्दै गहुँको खेतमा बेहोस भएका थिए र पछि भारतको सीतामढीमा एक ठेलामा होस आएको थियो।
उनले भने, “मलाई आलम छुटेकोमा दुःख लागेको छ, उसले धम्की दिएको छ, मलाई मार्छ जस्तो लागेको छ।”
चमारले पत्रकार सम्मेलनमा आफ्नो शरीरमा बमका चोट र आगोले पोलेको घाउ देखाउँदै घटनाका भयावह क्षणहरू सुनाए।
उनले आरोप लगाए, “उक्त घटनापछि आलम पक्षबाट मलाई एकचोटि पनि नसोधियो, उपचारमा तीन लाखभन्दा बढी खर्च भयो, सरकारले घर बनाउन दिएको इँटा बेच्नुपर्यो। तर आलम वा उसका मान्छेहरूले एक रुपैयाँसम्म पनि दिएका छैनन्।”
चमारले आफ्नो हालको अवस्था झल्काउँदै भने, “म काम गर्न सक्दिन, घाममा जान सक्दिन, केही दिन काम गरें भने पनि निकाला गरिन्छ। मेरो जीवन बर्बाद भयो, म तमासाजस्तो बनेको छु।”
उनले प्रहरीमा बयान दिएपछि आलमका मान्छेले घरमा गएर आमालाई समेत ज्यान मार्ने धम्की दिएको बताए। “उनीहरूले मेरी आमालाई भनेछन्, तेरो छोरा अब गयो, दुई-चार वर्षपछि बाँच्दैन,” चमारले खुलासा गरे।
२०६४ सालमा रौतहटमा भएको बम विस्फोटमा घाइतेहरूलाई जिउँदै इँटाभट्टामा पोलेर मारेको आरोपमा आलममाथि मुद्दा चलाइएको थियो। जिल्ला अदालतले उनलाई दोषी ठहर गरे पनि उच्च अदालत वीरगञ्जले हालै सफाइ दिएको थियो।
उक्त फैसलाविरुद्ध चमारसहितका पीडितहरू पुनः न्यायको लडाइँमा उत्रिएका छन्। “सरकारसँग माग गर्छु, यस्तो अपराधीलाई कडाभन्दा कडा सजाय दिनुपर्छ, नत्र म जुनसुकै बेला मर्न सक्छु,” चमारले सरकार र अदालतसँग भावुक अपिल गरे।












