काठमाडौं । कात्तिक महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटेको छ । २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर असोजको तुलनामा कात्तिकमा औसत ०.२१ प्रतिशत विन्दुले घटेको छ ।
असोजमा यी बैंकको अधिकतम व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ६.३९ प्रतिशत रहेकोमा कात्तिकमा ६.१८ प्रतिशतमा झरेको छ । यसअघि भदौमा अधिकतम व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ६.५० प्रतिशत थियो ।
सार्वजनिक सूचनाअनुसार कात्तिकमा एउटा बैंक सानिमाले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर असोजको तुलनामा बढाएको छ । त्यस्तै १० बैंकले यस्तो ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका छन् ।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाउनेमा कृषि विकास, राष्ट्रिय वाणिज्य, लक्ष्मी सनराइज, प्राइम, सिटिजन्स, नबिल, सिद्धार्थ, स्टान्डर्ड चार्टर्ड, एनआईसी एसिया र हिमालयन बैंक छन् ।
स्थिर राखेकामा ग्लोबल आईएमई, कुमारी, एसबीआई, नेपाल, इन्भेस्टमेन्ट मेगा, माछापुच्छ्रे, एभरेस्ट, एनएमबी र प्रभु छन् ।
कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५.७५ प्रतिशत कायम भएको छ । लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।
| बैंक | कात्तिककोलागिब्याजदर (प्रतिशतमा) | असोजको लागिब्याजदर (प्रतिशतमा) |
| एनएमबी | ६.५ | ६.५ |
| एनआइसी एसिया | ६.९९ | ७.१८ |
| सिटिजन्स बैंक | ६ | ६.१५ |
| हिमालयन बैंक | ६.२५ | ७ |
| माछापुच्छ्रे बैंक | ६.५ | ६.५ |
| नबिल बैंक | ६.२५ | ६.७५ |
| सिद्धार्थ बैंक | ६ | ६.५ |
| प्राइम कमर्सियल | ६ | ७.२५ |
| सानिमा बैंक | ६.१५ | ५.९ |
| कुमारी बैंक | ६.०१ | ६.०१ |
| प्रभु बैंक | ६.१ | ६.१ |
| लक्ष्मी सनराइज बैंक | ६ | ६.५ |
| ग्लोबल आइएमई बैंक | ६.२५ | ६.२५ |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | ६.५ | ७ |
| एभरेष्ट बैंक | ६ | ६ |
| नेपाल इन्भेष्टमेन्ट बैंक | ६.५ | ६.५ |
| नेपाल बैंक | ५.९५ | ५.९५ |
| राष्ट्रिय वाणिज्यबैंक | ५.८ | ६ |
| नेपाल एसबिआई बैंक | ६ | ६ |
| कृषि विकासबैंक | ५.७५६ | ६.०७ |
| औसत | ६.१४ | ६.४ |












