काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो धनजनको क्षति पुगेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ। आयोगले घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।
आयोगले बाढीपीडितहरुको शीघ्र उद्धार, प्रभावकारी राहत र सुरक्षित पुनर्स्थापनामा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेको छ। घाइतेहरूको निःशुल्क र भरपर्दो उपचार सुनिश्चित गर्न, हराइरहेकाहरूको खोजी कार्य तीव्र बनाउन र मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन आयोगले माग गरेको छ।
आयोगका अनुसार हालसम्म ९ वटा मानव अङ्ग फेला परेका छन् भने १९ जना अझै हराइरहेका छन्। बाढीमा दर्जनौँ व्यक्ति घाइते हुनुका साथै सवारीसाधन, सडक, भवन, जलविद्युत् आयोजनालगायत भौतिक पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ।
घटनापछि आयोगको अनुगमन टोली प्रभावित क्षेत्र रसुवा पुगेको छ। आयोगले आपतकालीन अवस्थालाई ध्यानमा राख्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न र सम्भावित कालोबजारी नियन्त्रणमा लिन सरकारलाई आग्रह गरेको छ।
साथै आयोगले विपद्को पूर्वतयारी, व्यवस्थापन र पछिल्लो पुनर्स्थापनासम्मका कार्य प्रभावकारी बनाउने दीर्घकालीन योजना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले संकटको समयमा हुन सक्ने मानव अधिकार उल्लंघनप्रति सचेत रहनुपर्नेमा जोड दिएका छन्। उनले यस संकटको घडीमा राज्य निकायहरूलाई आफ्नो भूमिकामा रहेर उद्धार र राहत कार्यमा सघाउन आम नागरिकहरूलाई पनि अपिल गरेका छन्।












