काठमाडौं । चीनको सीमा क्षेत्रमा पर्ने रसुवागढी नाकामा आएको भीषण बाढीमा परेर कम्तीमा १६ जना बेपत्ता भएका छन्। चीनतर्फको भोटेकोशी खोलामा आएको बाढीले नेपालतर्फको व्यापारिक क्षेत्र प्रभावित बनाउँदा ठूलो जनधनको क्षति भएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीका अनुसार बेपत्ता हुनेमध्ये तीन जना नेपाल प्रहरी, तीन जना सवारी चालक, छ जना नेपाली कामदार र चार जना चिनियाँ कामदार छन्। यस्तै, रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको अधिकारीले जानकारी दिए।
बाढीको असर रसुवामात्र नभई नुवाकोटसम्म देखिएको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ मा त्रिशूली नदीको बीचमा फसेका एक पुरुष र एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार, “बसपार्क नजिकै त्रिशूली नदीको बीच भागमा रूख चढेर बसिरहेका ती दुई जनालाई झण्डै तीन घण्टापछि सकुशल उद्धार गरिएको हो।”
उद्धारका लागि स्थानीय सरकार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सशस्त्र सीमा बल, र नेपाली सेना खटिएका छन्। तर, नदीमा पानीको सतह लगातार बढिरहेकोले उद्धार कार्य जटिल बन्दै गएको अधिकारीहरूको भनाइ छ।












