काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज शुक्रबार दिउँसो १ः१५ बजे बस्दैछ। संसद् सचिवालयका अनुसार आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि दफावार छलफल प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार छलफलपछि ती विधेयक पारित गरी पुनः प्रतिनिधिसभामा फिर्ता पठाउने सम्भावना रहेको छ।
यसैबीच, आज पाँच वटा संसदीय समितिको बैठक पनि बस्दैछन्। अर्थ समितिको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ संशोधन गर्न बनेको विधेयकमा दर्ता गरिएका संशोधन प्रस्तावहरूमाथि सम्बन्धित सांसदहरूसँग छलफल हुने कार्यसूची छ।
त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल गरिनेछ।












