काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको आधारमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरूलाई सुझाव दिएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले युवाहरूको काँधमा समृद्ध नेपाल बनाउने युगीन जिम्मेवारी रहेको बताए।
उनले युवाहरू उद्यमशीलता र स्वरोजगारतर्फ काम गर्न सक्षम रहेको भन्दै यो समयको माग भनेका छन्। विश्वव्यापीकरण र प्रविधिको तीव्र विस्तार भएको आधुनिक युगमा युवाले विकास, सुशासन र समृद्धिको सपना पूरा गर्नु मुख्य कर्तव्य भएको उनले बताए।
राष्ट्रपतिले उद्यमशीलता आर्थिक विकासको आधार भएको उल्लेख गर्दै विदेश पलायन रोक्न र युवालाई स्वदेशमै रोजगारीतर्फ आकर्षित गर्न उद्यमशीलता प्रवर्द्धनमा सरकारले प्राथमिकता दिएको बताए। प्रविधिमा आधारित नवप्रवर्तन, खेलकुद, मनोरञ्जन, सूचना प्रविधि लगायतका क्षेत्रमा नेपाली युवाहरूले उत्कृष्ट काम गरिसकेको पनि उनले बताएका छन्।
सरकारले प्रविधि दक्ष युवालाई सहुलियतपूर्ण कर्जा, युवामैत्री लगानी वातावरण र नवप्रवर्तनमा सहयोग गर्दै उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको राष्ट्रपति पौडेलले जानकारी दिए।












