काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले असार १८ गतेदेखि आफूले राज्यबाट पाउँदै आएको सबै सेवा तथा सुविधा औपचारिक रूपमा त्याग गरेकी छन्। उनले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सबै प्रकारका सेवा–सुविधा नलिने निर्णय बुधबार गृह मन्त्रालयमा पत्रद्वारा जानकारी गराएकी हुन्।
सरकारी स्रोतका अनुसार उनले त्याग गरेसँगै स्वकीय सचिव, कार्यालय सहयोगी लगायतका सुविधा अन्तर्गत मासिक डेढ लाख रुपैयाँबराबरको खर्च बुधबारदेखि रोकिएको छ। त्यस्तै, उनी प्रयोग गर्दै आएको सवारी र त्यससँग सम्बन्धित पेट्रोल सुविधा पनि सोही दिनदेखि बन्द गरिएको छ।
तर सुरक्षासम्बन्धी व्यवस्था भने कायमै रहनेछ। स्रोतका अनुसार पूर्वराष्ट्रपतिको सुरक्षा व्यवस्थापन कानुनी दायित्व भएकाले उनले त्याग गर्न नमिल्ने व्यवस्था छ।
पूर्वराष्ट्रपति भण्डारीले एमालेको सक्रिय राजनीतिमा पुनः फर्किने घोषणा गरेसँगै सेवा–सुविधा त्यागेको निर्णय आएको हो। गत असार १४ गते मदन भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा उनले पार्टी सदस्यता नवीकरण गरेकी थिइन्। त्यही कार्यक्रममार्फत उनले एमालेको सक्रिय राजनीतिमा फर्किएको सार्वजनिक घोषणा गरेकी थिइन्।












