काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि आफूले पाउँदै आएका सरकारी सेवासुविधा फिर्ता गर्ने तयारीमा लागेकी छन्।
शीतल निवासबाट आफ्नो निजी निवासमा फर्किसकेकी भण्डारीले अब बाँकी सबै सेवा–सुविधा पनि आगामी साउन १ गतेदेखि लागू हुने गरी त्याग्ने तयारी गरिरहेकी हुन्। निकट स्रोतका अनुसार यस सम्बन्धी पत्र तयार पारिने प्रक्रिया चलिरहेको छ।
हालसम्म सरकारले पूर्वराष्ट्रपतिलाई दुई जना निजी सचिवको तलब, सुरक्षाकर्मीको आवास खर्च र गाडीको इन्धनलगायत सुविधा दिँदै आएको छ। तर, शीतल निवास छाडेपछि भण्डारीले तीमध्ये कुनै पनि सुविधा प्रयोग नगरेको स्रोतको दाबी छ।
असार १४ गते मदन भण्डारी जयन्तीको अवसरमा एमालेको सदस्यता नवीकरण गरेको घोषणा गरेपछि भण्डारी पुनः पार्टी राजनीतिमा सक्रिय हुने संकेत देखिएको थियो। उनको पछिल्लो निर्णयले उनी पार्टी भूमिकामा पूर्ण रूपमा फर्किन चाहेको पुष्टि गरेको छ।












