काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दीप प्रज्वलन गरी सोनाम ल्होसार पर्वको शुभारम्भ गरेका छन्। मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले दीप प्रज्वलन गरी सोनाम ल्होसारको शुभारम्भ गरेका हुन्।
सो क्रममा लामा गुरुहरूले विषेश पूजा र मन्त्रोचरण गरेका थिए । साथै,तामाङको संस्कृतिक प्रस्तुति ताम्बा र बाम्बोको प्रस्तुति गरिएको थियो । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव,सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेको बताए। उनले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र तामाङ जातिको सामाजिक, सांस्कृतिक एवम् धार्मिक जीवनमा ल्होसार परम्पराको विशिष्ट र अत्यन्तै महत्वपूर्ण स्थान रहेको बताए।












