काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न रहेको आरोपमा निलम्बन गरेको छ।
कँडेललाई रूपन्देही प्रहरीले पक्राउ गरेको थियो। शुक्रबार पार्टीले विज्ञप्ति जारी गर्दै उनलाई कुनै पनि जिम्मेवारी नदिने गरी निलम्बन गरिएको जनाएको छ।
रास्वपाले विज्ञप्तिमा भनेको छ, “नेपाल सरकारको विद्यमान कानुन विपरीतको कार्यमा संलग्न भएको सूचना प्राप्त भएकाले प्रहरीको छानबिन तथा अनुसन्धानमा सहजता पुर्याउन निलम्बन गरिएको हो। आरोप प्रमाणित भएमा थप कारबाही हुनेछ।”
चितवनस्थित कँडेलकै इन्स्टिच्युटमार्फत नक्कली प्रमाणपत्र किनबेच हुँदै आएको पत्ता लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि भदौ १ गते रुपन्देहीको बेलहिया बसपार्कबाट भारतीय नागरिक अभिषेक यादवलाई पक्राउ गरिएको थियो।
यादवको साथबाट नेपाल तथा भारतका विभिन्न शैक्षिक संस्था र विश्वविद्यालयका नक्कली प्रमाणपत्र, स्टाम, होलोग्राम र स्टिकर बरामद भएको प्रहरीले जनाएको छ।












