काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ क्षेत्रको उपनिर्वाचनका लागि उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आजदेखि आवेदन आह्वान गरेको छ। उम्मेदवार बन्न चाहनेहरूले २१ साउनसम्म पार्टीमा आवेदन दिन सक्ने छन्।
पार्टीले सार्वजनिक गरेको कार्यतालिका अनुसार साउन २२ गते उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशित गरिनेछ। दाबी विरोधका लागि साउन २३ र २४ गते दुई दिनको समय दिइएको छ।
साउन २५ गते उम्मेदवारसँग छलफल गरिनेछ भने सोही दिन प्रारम्भिक उम्मेदवारको नामावली पनि सार्वजनिक गरिनेछ। त्यसपछि साउन २७ देखि भदौ ११ सम्म ‘लिडरसीप एकेडेमी’, ‘पोलिटिकल प्रोक्सिमिटी’ र ‘समावेशिता’ सम्बन्धी मूल्याङ्कन कार्यतालिका अनुरूप अगाडि बढाइनेछ।
रास्वपाले उम्मेदवार चयन प्रक्रियामा पारदर्शिता र सहभागिता बढाउन प्रारम्भिक निर्वाचनको विधि अपनाएको जनाएको छ। प्रारम्भिक निर्वाचन भदौ १२ र १३ गते सञ्चालन गरिनेछ भने अन्तिम उम्मेदवारको चयन भदौ १५ मा गरिनेछ।
उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूले रास्वपाको मोबाइल एपमार्फत आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।
निर्वाचन आयोगले रुपन्देही–३ क्षेत्रको उपनिर्वाचन आगामी कात्तिक १७ गतेका लागि तोकेको छ। राप्रपाका सांसद दीपक बोहराको निधनपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।












