काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई काम गरेपछि मात्र बोल्न आग्रह गरेका छन्। राजनीतिमा आएदेखि हालसम्म बोलेका कुराहरु कहिले पूरा हुन्छ भनी प्रश्न गर्दै ढकालले सभापतिसँग समयसीमा मागेका छन्।
बुधबार केन्द्रीय समितिमा आफ्ना प्रस्ताव प्रस्तुत गर्न नपाएपछि उनले सञ्चारमाध्यममार्फत नै सार्वजनिक गरेका हुन्। उक्त प्रस्तावमा ढकालले सभापति लामिछाने राजनीतिमा आएपछि बोलेका कुराहरुको रेकर्ड राख्न केन्द्रीय समितिबाट उपसमिति गठन गरी अभिलेखिकरण राख्न समेत गरेका छन्।
‘सभापतिज्यू, तपाइँले बोलेका सबै कुराको रेकर्ड राखेर उत्तर दिनुपर्यो, राजनीतिमा आएपछि बोलेका सबै कुराहरु । यही केन्द्रीय समितिबाट एउटा उपसमिति बनाऔं, ती बोलिहरुको अभिलेखिकरणका लागि । अरुले बोलेका कुराहरु मलाइ मतलब छैन, मलाइ तपाईँले बोलेका कुराहरु मतलब छन्। हिजो किन बोल्नु भयो ? बोलेका कुराहरु कहिले पूरा गर्नुहुन्छ, टाइमफ्रेम चाहियो । रिजल्ट चाहियो । र अनुरोध छ, अबका दिनमा काम गरेपछि मात्र बोल्नुहोला,’ ढकालले भनेका छन्।