काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई पदबाट हटाएको छ। पार्टीको विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेको आरोपमा उनलाई अध्यक्ष पदबाट हटाइएको हो। उक्त निर्णयको जानकारी मंगलबार निर्वाचन आयोगमा पत्रमार्फत गराइएको छ।
श्रेष्ठले पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि पोखराकै शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको विषयमा पार्टीभित्र तीव्र असन्तोष चुलिएको थियो। त्यसपछि पार्टीको अनुशासन समितिले रामलाल डगौराको संयोजकत्वमा श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो।
तर, निर्धारित समयभित्र कुनै जवाफ नदिएको भन्दै अनुशासन समितिले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो। उक्त कारबाहीलाई पार्टीको मध्यबानेश्वरमा जारी राष्ट्रिय भेलाले अनुमोदन गर्ने बताइएको छ।
अनुशासन समितिमा डगौरासँगै सुनिता चौधरी र पुण्य बुढा सदस्य रहेका छन्।












