काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको समाचार निराधार भएको स्पष्ट पारेकी छन् ।
पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाँक्रीले अहिलेसम्म आफूलाई कुनै पनि औपचारिक रूपमा स्पष्टीकरण सोधिएको नभएको बताइन् । पार्टीका केही नेताहरूले टेलिभिजनमा स्पष्टीकरण सोधिएको भन्दै हल्ला फैलाएको उनको दाबी छ।
झाँक्रीले बुटवलमा पार्टीसम्बद्ध युवा संगठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन्। यसपछि पार्टी महासचिव घनश्याम भुसालले अनावश्यक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए।
तर, झाँक्रीले आफूलाई स्पष्टीकरण सोधिएको भन्ने समाचार गलत भएको उल्लेख गर्दै, पार्टीको निर्णय बुझ्न सचिवालय बैठकमा निवेदन लिएर पुगेको बताइन्। उनले भनिन्, “केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोधेको भन्छन्, तर मलाई भने सोधिएको छैन। म १५ असारमा कुनै प्रतिक्रिया नदिन निर्देशन पाएको थिएँ।”
झाँक्रीले पार्टीलाई नोक्सान नहोस् भनेर सचिवालय बैठकमा आफ्नो कुरा राख्ने इच्छा व्यक्त गर्दै सो बैठकका लागि बोलाउनुपर्ने माग गरेकी छन्।












