काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेतृ रामकुमारी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको छ। पार्टीले उनलाई तीन दिनभित्र लिखित जवाफ पठाउन निर्देशन दिएको छ।
पार्टी स्रोतका अनुसार झाँक्रीले सार्वजनिक रूपमै अध्यक्ष नेपालको आलोचना गर्दै अर्ली महाधिवेशनमार्फत पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेपछि पार्टी नेतृत्व असन्तुष्ट बनेको हो।
पार्टी निकट युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई शनिबार सम्बोधन गर्दै झाँक्रीले अध्यक्ष नेपालमाथि परेको संकटकै कारण पार्टी असहज अवस्थामा पुगेको दाबी गर्दै भनिन्, “पार्टीमा संकट छ, त्यो अध्यक्षकै कारण आएको हो। अब काँधमा मरेको सिनो बोकेर हिँड्न सकिन्न, अर्ली महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्नुपर्छ।”
उनले अध्यक्ष नेपालमाथि पतञ्जली जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दर्ता भएकाले कानुनी र नैतिक संकट उत्पन्न भएको भन्दै तत्कालीन नेतृत्व परिवर्तनको पक्षमा आवाज उठाएकी थिइन्। “हामी सुध्रिने हो भने, हलबाट नेतृत्व छान्नुपर्छ। टीका लगाएर बनाइएको केन्द्रीय समितिबाट होइन,” उनले स्पष्ट भनाइ राखेकी थिइन्।












