काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महासचिवमा रामकुमार शर्मा चयन भएका छन् । जसपा नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको हो ।
जेठ २८ देखि ३० गते सम्पन्न भएको एकताको राष्ट्रिय महाधिवेशनले पार्टीको विधान २०८० (२०८१ संशोधित) धारा १४१ (१) बमोजिम गरिएको अधिकार प्रत्यायोजन, धारा २९ (३) र धारा ८७ (१) मा व्यवस्था भए बमोजिम पार्टी अध्यक्ष उपेन्द्र यादवले उनीहरूलाई चयन गरेका हुन् ।
सोमबार जारी निर्णय अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ चयन भएका छन् । त्यस्तै, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य रहेका छन् ।
महासचिवमा लालबाबु राउत र शर्मालाई चयन गरिएको छ भने पार्टीले प्रवक्तामा मनिष कुमार सुमनलाई चयन गरेको छ ।
को हुन् महासचिव शर्मा

तत्कालीन मधेशी जनअधिकार फोरम छँदा नै उपेन्द्र यादवको सारथी बनेका महोत्तरीका माओवादी (केन्द्र)का नेता रामकुमार शर्माले गत वैशाखामा जनता समाजवादी पार्टी (जसपा)मा फर्किएका थिए ।
उनलाई जसपा अध्यक्ष यादवले पार्टीमा प्रवेश गराएका थिए । शर्मासँगै उनकी पत्नी एवं माओवादी(केन्द्र)की केन्द्रीय सदस्य इन्दु शर्मा पनि जसपामा प्रवेश गरेकी थिइन् । रामकुमार तत्कालीन मधेशी जनाधिकार फोरम नेपालका महासचिव पनि थिए । तराईमा बौद्धिक र भ्रष्टाचार विरोधी अभियानको नेताको रुपमा शर्मा चिनिन्छन् ।












