काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा चीन–भारतबीच भएको व्यापार सम्झौताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारले तत्काल कूटनीतिक पहल गर्नुपर्ने माग गरेका छन्।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको आसन्न चीन र भारत भ्रमणलाई अवसरको रूपमा उपयोग गरी यस विषयलाई उच्चस्तरमा उठाउनुपर्नेमा जोड दिए।
खतिवडाले सीमा विवादजस्ता संवेदनशील मुद्दामा दल, जात वा समूहभन्दा माथि उठेर राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनले प्रधानमन्त्रीलाई चीन र भारतका शीर्ष नेतृत्वसँग भेटघाटका क्रममा नेपालको प्रस्ट अडान राख्न आग्रह गर्दै, तिब्बती क्षेत्रमा हिमताल फुटेर आएको बाढीप्रति पनि चिन्ता व्यक्त गरे।












