काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले आफू राजीनामाका लागि तयार रहेको बताएका छन् ।
संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ प्रावधानबारे भइरहेको विवादका बीच उनले उक्त विषयमा आफूलाई अनावश्यक रूपमा तान्ने प्रयास भएको गुनासो गरे ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै खतिवडाले पार्टीले निर्देशन दिए तत्काल राजीनामा दिन तयार रहेको स्पष्ट पारे ।
“सभापतिको हैसियतमा मेरो पनि गल्ती छ भनेर पार्टीले बाहिर बस भन्छ भने म तयार छु,” खतिवडाले भने, “तर जानीबुझी झूटो कुरा प्रचार गरेर कसैलाई बदनाम गर्ने प्रवृत्ति गलत हो ।”
कुलिङ अफ पिरियडको विषयलाई लिएर कांग्रेसभित्रै पनि विवाद चुलिँदै गएको छ । समितिको सभापतिमा रहेका खतिवडाको भूमिकालाई लिएर नेताहरूबीच असहमति देखिएको छ ।












