काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “यदि यो संविधान असफल भयो भने देशमा अकल्पनिय द्वन्द्व सुरु हुनेछ।”
लेखकले संविधान निर्माणमा २० वर्ष लागेको स्मरण गराउँदै, अर्को २० वर्षमा पनि नयाँ संविधान बनाउन सकिने सम्भावना कम हुने दाबी गरे। उनले संविधानको रक्षा, सुदृढीकरण र समयसापेक्ष संशोधन आजको आवश्यकता रहेको बताए।
उनका अनुसार समय र समाजको विकाससँगै संविधानलाई उन्नत, परिवर्तन र परिमार्जन गर्न आवश्यक छ। संविधान संशोधनको लागि कांग्रेस र एमालेले सहमति जनाए पनि सरकार गठन भएको एक वर्ष पुग्दा संशोधन प्रक्रिया प्रारम्भ हुन नसकेको उनले स्वीकार गरे।
गृहमन्त्री लेखकले संविधानमा कतिपय प्रश्न उठाउने प्रयास भइरहेको स्वीकार्दै, ती प्रश्नहरू जायज रहेको र संविधानमा समेट्न चाहेको केही कुरा पूर्ण रुपमा समावेश हुन नसकेको पनि बताए।












