रामेछाप । बिहीबार बिहान रामेछाप कारागार तोडफोड गरी भाग्न खोज्ने क्रममा सेनाले चलाएको गोली लागेर २ कैदीको मृत्यु भएको छ।
रामेछापका प्रमुख जिल्ला अधिकारी (सिडिओ) श्यामकृष्ण थापाका अनुसार कैदीबन्दीहरूले विभिन्न च्यानलमा लगाइएको ताल्चा तोडेर बाहिर निस्कने प्रयास गरेका थिए। सम्झाइबुझाइ गर्दा पनि नमानेपछि सुरक्षाकर्मीलाई बल प्रयोग गर्न बाध्य भएको उनले बताए।
घटनामा एक जना कैदी गम्भीर घाइते छन् भने अन्य १० जना सामान्य घाइते भएका छन्। घाइतेहरूको रामेछाप अस्पतालमा उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सिडिओ थापाले भने, “सम्झाउँदा बुझाउँदा पनि नमानेर बलजफ्ती निस्कन खोजेपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनुपर्यो।”
हाल कारागार पुनः नियन्त्रणमा लिइसकिएको र सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जानकारी दिएको छ।












