काठमाडौं । सरकारले ८ देशका लागि राजदूत सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्ले ८ देशका लागि राजदूत सिफारिस गरेको हो ।
बैठकले अमेरिकाका लागि पूर्व वाणिज्य सचिव चन्द्र घिमिरेलाई राजदूत सिफारिस गरेको छ । भारतमा पूर्व मुख्य सचिव लोकदर्शन रेग्मी, दक्षिण कोरिया सुशिल प्याकुरेललाई सिफारिस गरिएको छ ।
बिहीबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछानेबीच ११ देशमा राजदूतको भागबण्डा मिले पनि शुक्रबार ८ जना मात्रै सिफारिस गरिएको हाे ।
बिहीबार एमालेको सिफारिसमा ८, रास्वपाको सिफारिसमा २ र माओवादीको सिफारिसमा १ राजदूत बनाउने सहमति भएको थियो ।
अघिल्लो मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।