रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको जिल्ला अदालत रुपन्देहीमा दर्ता गरिएको रिहा सम्बन्धी निवेदन अस्वीकृत भएको छ।
जिल्ला न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले सोमबार लामिछानेको माग बमोजिम नहुने निर्णय सुनाएको हो। अदालतको यो फैसलासँगै उनी हाल रुपन्देही कारागारमै थुनामा रहनुपर्ने भएको छ।
लामिछाने बुटवलस्थित सुप्रीम सहकारी ठगी प्रकरणमा संलग्न भएको अभियोगमा चैत २५ गतेदेखि थुनामा छन्। आफू निर्दोष रहेको दाबी गर्दै उनले बचतकर्ताको रकम फिर्ता गराउने सुनिश्चितता आफूले नै गर्न चाहेको भन्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए।
निवेदनमा उनले आफ्नो भागको ठगी रकम बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत समेत बुझाएका थिए। तर अदालतले सो जमानतलाई अस्वीकार गर्दै रिहा नगर्ने निर्णय गरेको हो।
अदालतको फैसलापछि अब लामिछानेलाई आगामी सुनुवाइसम्म थुनामै राखिनेछ। सुप्रीम सहकारीको ठगी प्रकरणमा करिब १ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना भएको आरोप छ। उक्त प्रकरणमा सहकारीका सञ्चालक, पदाधिकारीसहित रवि लामिछानेको संलग्नता रहेको भन्दै अनुसन्धान भइरहेको छ।












