काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग शुक्रबार सहकारी ठगीबारे बयान लिएको छ ।
समितिले बयानका लागि लामिछानेलाई दिउँसो २ बजेका लागि समय मिलाए पनि उनीअघि सोही प्रकरणमा लामिछानेसँगै जोडिएका छविलाल जोशीको बयान लम्बिएपछि लामिछानेसँगको बयान अपराह्न ४ बजे मात्र सुरु भयो ।
४ बजे सुरु भएको बयान समितिमा राति पौने १० बजेसम्म चल्यो । योबीच समितिले लामिछानेसँग ५० भन्दा धेरै प्रश्न सोधेको छ । सहकारी प्रकरणमा आफू दोषी नभएको सार्वजनिक रूपमा जिकिर गरिरहेका उनले समितिसमक्ष उपस्थित हुँदा हातमा केही थान फाइल बोकेका थिए ।
लामिछानेनिकट स्रोतहरूका अनुसार उनले फाइलमा आफ्नो बैंकमा पैसा नआएको प्रमाण स्वरुप बैंक स्टेटमेन्ट, मुद्दा नचलेको कागजातलाई प्रमाणका रूपमा समितिमा पेस गरेका छन् । समितिले लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिएको हो ।












