काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले आज अन्तिमपटक हिरासत म्याद थप्दै छ।
कास्की जिल्ला प्रहरी कार्यालयका अनुसार हिरासत म्याद थप्न आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको हो ।
यसअघि सातौँपटक मंसिर २७ गते थपिएको ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँपटक म्याद थपको अनुमति लिन लागेको हो।
सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा लामिछाने कात्तिक २ गते पक्राउ परे पनि उनका व्यावसायिक साझेदार गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए।












