काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको नाम र लोगो प्रयोग गरी शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन साप्ताहिक बिदा दिने भनिएको नक्कली विज्ञप्ति सामाजिक सञ्जालमा फैलिएको पाइएको छ।
उक्त विज्ञप्तिमा ०८३ देखि देशभरका सरकारी तथा निजी सबै तहका शैक्षिक संस्थामा शनिबार र आइतबार पूर्ण रूपमा बिदा रहने उल्लेख गरिएको छ।
विज्ञप्तिमा विद्यार्थीको मानसिक स्वास्थ्य, शिक्षक–कर्मचारीको विश्राम, शिक्षा प्रणाली आधुनिकीकरण तथा परिवारसँग समय बिताउने अवसर जस्ता कारण देखाउँदै नयाँ बिदा प्रणाली लागू गरिने दाबी गरिएको छ। तर, मन्त्रालयले त्यसलाई आधिकारिक सूचना नभएको स्पष्ट गरेको छ।
विज्ञप्तिमा उपसचिव सेमन्त कोइरालाको हस्ताक्षर दुरुपयोग गरिएको छ। तर, कोइरालालेले सामाजिक सञ्जालमार्फत आफ्नो हस्ताक्षर भएको उक्त सूचना विभिन्न फेसबुक वालमा फैलिएको जानकारी आएको भन्दै त्यो मन्त्रालयबाट जारी नभएको र पूर्ण रूपमा भ्रामक रहेको बताएका छन्। उनले मन्त्रालयको नाममा गलत सूचना नफैलाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा मन्त्रालयको लोगो, हस्ताक्षर र सरकारी ढाँचा प्रयोग गरेर बनाइएको उक्त कागजले धेरै अभिभावक, शिक्षक र विद्यार्थीमा अन्योल सिर्जना गरेको थियो। पत्रमा पत्र संख्या र चलानी नम्बरसमेत नराखिएको तथा सरकारी पत्राचारको नियमित ढाँचा नअपनाइएको देखिन्छ।
मन्त्रालयले आधिकारिक सूचना केवल आफ्नो औपचारिक माध्यमबाट मात्र सार्वजनिक हुने भएकाले यस्ता अपुष्ट सामग्रीमा विश्वास नगर्न अनुरोध गरेको छ। साथै, कुनै पनि निर्णयबारे जानकारी लिन मन्त्रालयको आधिकारिक सूचना प्रणाली र सम्बन्धित विद्यालय प्रशासनसँग पुष्टि गर्न आग्रह गरिएको छ।
सूचना किन शंकास्पद देखिन्छ?
पहिलो कागजमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय को नाम राखेर “शनिबार र आइतबार दुई दिन बिदा” भनिएको छ। तर यसमा केही समस्या देखिन्छः
पत्र संख्या र चलानी नम्बर खाली छन्
भाषा सरकारी पत्रको औपचारिक शैलीभन्दा फरक छ
‘ऐतिहासिक कदम’ जस्ता प्रचारात्मक शब्द धेरै छन्
हस्ताक्षर र पद विवरण मिल्दोजुल्दो भए पनि आधिकारिक प्रमाणीकरण छैन
मन्त्रालयको नियमित सूचना शैलीसँग मेल खाँदैन
सूचना नक्कली (फेक) र भ्रामक हो
अहिलेको वास्तविक अवस्था
नेपालमा विद्यालयको साप्ताहिक बिदा सामान्यतया शनिबार मात्रै हो। आइतबार बिदा गर्ने निर्णयबारे आधिकारिक सरकारी निर्णय सार्वजनिक भएको छैन।
विश्वास गर्नुअघि के गर्ने ?
मन्त्रालयको आधिकारिक वेबसाइट हेर्नुहोस्
मन्त्रालयको आधिकारिक फेसबुक पेज हेर्नुहोस्
प्रशासनसँग सोध्नुहोस्













