काठमाडौं । प्रसिद्ध गायक तथा अभिनेता प्रशान्त तामाङको अन्त्येष्टि आज दार्जिलिङमा हुने भएको छ। जीटीए सरकारको पहलमा तामाङको शव आज बिहान नयाँ दिल्लीबाट जन्मथलो दार्जिलिङ लगिएको थियो।
दार्जिलिङका विभिन्न स्थानमा हाल शवयात्रा भइरहेको छ। प्रशान्तका फ्यानहरूले उनलाई पुष्पगुच्छा चढाउँदै अन्तिम श्रद्धाञ्जली दिइरहेका छन्। शवयात्रा पश्चात अन्तिम श्रद्धाञ्जलीका लागि स्थानीय चौरमा शव राखिने र त्यहीं अन्त्येष्टि गरिने कलाकार राजेश घतानीले जानकारी दिए।
भारतीय मूलका नेपाली भाषी गायक तामाङ इन्डियन आइडलको तेस्रो संस्करणका विजेता थिए। उनी पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनयरत थिए। तामाङले नेपाली फिल्म ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतमा अभिनय गरेका छन् र थुप्रै चर्चित गीत दिएका छन्।
उनको निधन दिल्लीमा भएको थियो, जहाँ उनी केही समयदेखि बस्दै आएका थिए।












