काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको ४३ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ। चलचित्रकर्मी राजेश घतानीका अनुसार तामाङ आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूसँग कुराकानीपछि सुतेकै अवस्थामा उनको मृत्यु भएको पुष्टि भएको घतानीले बताएका छन्।
इन्डियन आइडल सिजन–३ का विजेता तामाङले हिन्दीका साथै थुप्रै चर्चित नेपाली गीतहरू गाएका छन्। उनका लोकप्रिय नेपाली गीतहरूमा असारे महिनामा, रातो रानी, गोर्खा पल्टन, घामको माया, मन साइँली, मुसु मुसु लगायत छन्। संगीतसँगै उनले नेपाली चलचित्र गोर्खा पल्टन र परदेशी मा अभिनयसमेत गरेका थिए।
४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङको पारिवारिक पृष्ठभूमि सामान्य थियो। सानै उमेरमा बाबुको निधन भएपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा गरेका थिए र प्रहरी अर्केस्ट्रामा सक्रिय रहे।
उनको निधनले नेपाली संगीत तथा फिल्म क्षेत्रलाई ठूलो क्षति पुगेको छ। तामाङका श्रीमती र एक छोरी छन्।












