काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले स्व. गणेशमान सिंहलाई व्यक्ति होइन, राज्यका प्रतीकका रूपमा सम्मान गर्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभामा आफ्नो बाबुको नाममा बजेट केन्द्रित गरिएको भन्ने आरोपको जवाफ दिँदै उनले जनआन्दोलनका अग्रणी नेताहरूको योगदानको कदर गर्नु राज्यको दायित्व भएको स्पष्ट पारे।
“गणेशमान सिंहको नाममा धेरै रकम विनियोजन गरिएको भन्ने कुरा उठाइएको छ। तर गणेशमान, बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीजस्ता व्यक्तित्वहरूले राणाशासनविरुद्ध लडेर नेपाली जनतालाई स्वतन्त्र बनाउन गरेको योगदानको सम्मान गर्न मलाई यहाँ सम्झाउन आवश्यक छैन,” मन्त्री सिंहले भने।
उनका अनुसार देश र जनताका लागि जीवन समर्पण गर्ने नेता तथा अग्रणी व्यक्तित्वहरूको नाममा विकास योजनामा बजेट विनियोजन गर्नु कुनै अपराध होइन।
“नागरिक भएकोमा गर्व गर्ने र रैती बन्न नचाहने जो–कोहीलाई लोकतन्त्रका नायकहरूको सम्मानमा आपत्ति हुने कुरा हुँदैन,” उनले भने, “उहाँहरू व्यक्ति होइन, राज्यका प्रतीक हुनुहुन्छ। त्यसैले उहाँहरूको सम्मान गर्नु राज्यको कर्तव्य हो।”
सिंहले कृतज्ञता व्यक्त गर्नु जनताको दायित्व भएको भन्दै “उहाँहरूको योगदानको ऋण तिर्न त सकिन्न, तर सम्मान जरुर गर्नुपर्छ,” भने।
सरकारले विगतदेखि नै यस्ता व्यक्तित्वहरूका नाममा विभिन्न विकास कार्यक्रम ल्याउँदै आएको र यो वर्ष पनि केही योजनामा बजेट छुट्याइएको उनले जानकारी दिए।










