काठमाडौं । बैतडीको सिगास गाउँपालिका– १ का शिक्षक प्रकाश दमाईंकी आमाको शव २४ घण्टापछि उठेको छ। उनको शव अन्तिम संस्कारका लागि ट्याक्टरमा राखेर पाटन नगरपालिका– ६ सुर्नयागाडमा रहेको तिपडा मसानघाट पु¥याइएको हो। शवयात्रामा दुईजना गैरदलित समुदायका गरी १८ जना सहभागी भए।
करिब तीन सयजनाको बसोबास रहेको सिगास– १ अङडेगाडा गाउँमा प्रकाशको परिवार दमाईं समुदायको एक्लो परिवार हो। उनकी ६१ वर्षीया आमा माना दमाईंको शव बोक्न स्थानीय कसैले पनि नमानेपछि झन्डै अढाइ सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र पाटन– ६ बाट आफन्त आएपछि शवयात्रा सुरु गरिएको हो।
आइतबार बिहान ११ बजे शवयात्रा सुरु भएकोमा पाटन पु¥यइएको शवयात्रामा सहभागी नरबहादुर साउदले बताए। छिमेकी जिल्ला डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए। आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैरदलित समुदायबाट दुईजना मात्र मसानघाट पुगेको जानकारी दिए।












