काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका केही पदाधिकारीहरुले वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीका केही पदाधिकारीहरुले कुरा ठूलाठूला गर्ने गरेको भए पनि वडा तहको समेत चुनाव जिताउन हैसियत राख्न नसक्ने अवस्था रहेको टिप्पणी गरेका हुन् ।
उपमहासचिव ज्ञवालीले पार्टीका धेरै नेता, कार्यकर्ता धागो नभएको चंगा जस्तो माथि मात्रै रहने गरेको तर जनाधार नभएको पनि औँल्याए । पार्टीका कतिपय पदाधिकारी, केन्द्रीय सदस्यहरुले कुरा ठूला गरे पनि जनाधार नहुँदा चुनाव जिताउने हैसियत गुमाएको उनको निष्कर्ष थियो । उपमहासचिव ज्ञवालीले पञ्चायत कालमा समेत जनमत बुझ्न राजा महेन्द्रले गाउँ फर्क अभियान चलाएको उल्लेख गर्दै पार्टीका नेता, कार्यकर्ताहरूले पनि जनाधार निर्माणमा विशेष ख्याल राख्नुपर्ने बताए ।
उपमहासचिव ज्ञवालीले नीति, विधि र व्यवहार सबै हिसाबले जनतासँग एकाकार भएर मात्रै पार्टीलाई अघि बढाउन सकिने भएकाले सिंगो पार्टी पङ्क्ति सोहीअनुसार परिचालन हुन आवश्यक रहेको बताए ।












