काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललले नेपालमा शान्ति प्रक्रियाको काम टुंग्याउने प्रक्रियामा रहेको बताएका छन् । नेपाललाई शान्तिको मोडेलका रूपमा प्रस्तुत गर्न सकिने पनि उनले बताए ।
२०६३ सालमा तत्कालीन सरकार र माओवादीबीच शान्ति सम्झौता भएको १८ वर्ष पूरा भएको अवसरमा बुधबार एक भिडियो वक्तव्य जारी गर्दै दाहालले शान्ति सम्झौताको भावनाअनुसार नै काम अगाडि बढिरहेको बताएका छन् ।
‘हामी अहिले शान्ति सम्झौताको मूलभूत भावनाअनुसार शान्ति प्रक्रियाको बाँकी काम पनि टुंग्याउने प्रक्रियामा छौँ । म खुसी छु कि मैले नेतृत्व गरेको सरकारकै समयमा सत्य निरूपण तथा बेपत्तासँग सम्बन्धित आयोगका लागि आवश्यक विधेयकको अन्तिमरूप दिइएको थियो,’ दाहालले भनेका छन्, ‘आज त्यो निष्कर्षतिर जाँदैछ । हामी सबै यसमा खुसी छौँ । हाम्रो प्रतिबद्धता के हो भने शान्ति प्रक्रियाका बाँकी काम टुंग्याएर नेपाललाई शान्तिको एउटा नयाँ मोडेलको रूपमा प्रस्तुत गर्न सकिन्छ भन्ने विश्वास छ ।’
प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका दाहालले नेपाली जनताले संविधानसभाबाट संविधान बनिसकेपछि संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत विकास र समृद्धिको जस्तो अपेक्षा गरेको हो, त्यो अनुसार हुन सकेन भन्ने असन्तुष्टि जनतामा छ । सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा एउटा नयाँ संकल्पसाथ जरुरी पर्दा संविधानलाई अझ परिमार्जन गर्दै जानुपर्ने आवश्यकता रहेको पनि दाहालको भनाइ छ ।
दाहालले आह्वान गरेका छन्, ‘शान्तिका निम्ति काम गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम जनताप्रति पनि हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै जनअपेक्षा अनुसार सुशासन, विकास र समृद्धिको पक्षमा लाग्न सबैसँग अपिल गर्दछु ।’
दाहालले भिडियो वक्तव्यमा शान्ति सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्मरण गरेका छन् । सम्झौतामा सरकार र सात राजनीतिक दलको तर्फबाट कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री कोइराला र माओवादीको तर्फबाट दाहालले हस्ताक्षर गरेका थिए ।
‘यो विस्तृत शान्ति सम्झौता नै नेपालमा संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्रको आधारशिला हो, यहीँबाट नयाँ युगको सूत्रपात भएको मान्न सकिन्छ,’ दाहालले विज्ञप्तिमा भनेका छन् ।












