काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणको वेलामा आफूहरूले फरक मतको रूपमा छाडेका शासकीय स्वरूप, निर्वाचन प्रणाली र पहिचानको मुद्दाका लागि नयाँ आन्दोलन अघि बढाउने बताएका छन्।
माओवादी काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिको चौथो भेला तथा प्रशिक्षण उद्घाटन गर्दै उनले मुलुक अब यथास्थितिमा चल्न नसक्ने भएकाले ती मुद्दा उठाउन पुनः आवश्यक भएको बताएका हुन्।
पुराना संसदवादी दलहरूसँगको संसर्गबाट माओवादी नेता- कार्यकर्ताहरू पनि केही न केही रूपमा बिग्रिएको उल्लेख गर्दै उनले अब हुने आन्दोलनबाट नेता-कार्यकर्तामा देखिएको फोहाेरमैला पनि सफा हुने विश्वास व्यक्त गरे। कांग्रेस-एमालेसँग मिलेर प्रधानमन्त्री भएको वेलाभन्दा जनतासँग मिलेर जाँदा प्रधानमन्त्रीभन्दा पनि माथिल्लो जिम्मेवारीमा रहेजस्तो अनुभव आफूलाई भएको उनले स्पष्ट पारे।
पार्टीलाई नयाँ वैचारिक मान्यता र नयाँ कार्यनीतिका साथ एकताबद्ध गर्ने जमर्को गरेको उनको भनाइ छ । सरकार छाडेसँगै प्रतिनिधिसभामा गरेको सम्बोधनका क्रममा आफूले कमजोरी स्वीकार गर्दै आफ्नो वर्ग, समुदाय, एजेण्डा र जनताप्रति फर्कने संकल्प
गरेको र त्यसपछि देशव्यपी नयाँ आकर्षण पैदा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सबै नेता कार्यकर्तालाई कहाँ कमजोरी भयो भनेर समीक्षासहित जनतासँग जोडिन आग्रह गरे ।
आफूले नेतृत्वले गरेको पहिलो सरकारले भौतिक पूर्वाधारको रुपमा मध्यपहाडी लोकमार्ग र अन्य कैयन उत्तरदक्षिण कोरिडोर निर्माणको थालनी गरेको, गरिब किसानको ३० हजारसम्मको ऋणमुक्त गरेको, दोस्रो कार्यकालमा मुलुकलाई लोडसेडिङको डरलाग्दो आतङ्कबाट मुक्त गरेको उल्लेख गर्दै उनले तेस्रो कार्यकालमा थालनी गरेको सुशासनको अभियान अब निरन्तर अघि बढ्ने बताए । उनले अहिले सरकार भ्रष्टाचारीको रक्षा गर्ने र त्यसको विरोध गर्नेमाथि कुनै न कुनै रुपमा दमन गर्नेतिर केन्द्रित रहेको बताए ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले सुशासनका पक्षमा थालेको अभियानकै कारण भ्रष्टाचारी जोगाउनकै लागि माओवादी नेतृत्वको सरकार ढालेर नयाँ सरकार बनाएको पनि बताए । उनले जनयुद्ध, जनआन्दोलन र संविधानको रक्षाका लागि भएका आन्दोलनमा काभ्रेले अतुलनीय योगदान गरेको उल्लेख गर्दै उत्पादनसहितको नयाँ समाजवादी आन्दोलनमा पनि योगदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटा, स्थायी समिति सदस्य यशोदा सुवेदी, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यमान दोङलगायतले पनि मन्तव्य राखेका थिए । ।












